दफा १७
संस्थानको काम र कर्तव्य
: (१)… … … राष्ट्रिय दृष्टिकोण तथा व्यापकताले पूर्ण स्वस्थ, उत्तरदायी तथा मनोरञ्जन सामग्रीले युक्त पत्र–पत्रिकाको प्रकाशन एवं वितरणद्वारा देशी विदेशी समाचार एवं अन्य उपयोगी कुराहरूको जानकारी सर्वसाधारणलाई………..नेपालभर सरल, सुलभ, एवं सुपथ किसिमले उपलब्ध गराउनु संस्थानको कर्तव्य हुनेछ ।
(२) उपदफा (१) अन्तर्गतको अधिकार र कर्तव्यको सर्वसामान्यतामा कुनै प्रतिकूल प्रभाव नपारी संस्थानले विशेष गरेर देहायमा लेखिएका कामहरू गर्न अथवा
अधिकारहरू प्रयोग गर्न पाउनेछ ः-
(क) गोरखापत्र दैनिकको मुद्रण, प्रकाशन, वितरण, सञ्चालन, आदि सबै काम गर्ने,
(ख) गोरखापत्र दैनिक र राईजिङ्ग नेपालका विभिन्न संस्करण प्रकाशनको स्तरमा सुधार ल्याउने तथा देशी एवं विदेशी समाचारलाई सकभर व्यापक रूपमा समावेश गर्ने,
(ग) राष्ट्रियता र प्रजातान्त्रिक भावनालई विकसित गर्दै लैजाने किसिमका आकर्षक, रोचक, संस्कृतिपरिचायक तथा मनोरञ्जनपूर्ण प्रकाशनहरू प्रकाशित गर्ने ।
(घ) .. … …
(ङ) गोरखापत्र दैनिक, राइजिङ्ग नेपाल र संस्थानका अन्य प्रकाशनका विभिन्न संस्करण, आकार प्रकार र मूल्य अन्य दस्तूर आदि निर्धारण गर्ने र असूल गर्ने ।
(च) आफूले गर्नु पर्ने कामको अतिरिक्त जन–साधारणले प्रकाशन गर्न ल्याएको कुरा आवश्यक दस्तूर लिई छपाई दिने,
(छ) संस्थानभित्र वा बाहिरका व्यक्तिलाई संस्थानको काम कुरामा शिक्षा एवं तालीमको व्यवस्था गर्ने,
(ज) आफूले गर्न पाउने काम गर्नका लागि चल अचल सम्पत्ति प्राप्त गर्ने, भोग गर्ने र नामसारी गर्ने,
(झ) आफ्नो अधिकारको प्रयोग गर्न र कर्तव्यको पालन गर्नमा मद्दत हुने किसिमको सबै ठेक्का पट्टा लिने दिने र कार्यान्वित गर्ने,
(ञ) संस्थानको सम्पत्ति धितो बन्धक राखी अरूसँग सापटी लिने,
(ट) संस्थानको सम्पत्ति भाडामा दिने, बिक्री गर्ने वा अरू प्रकारको बन्दोबस्त गर्ने,
(ठ) डिपोजिटको ब्याज दिने र संस्थानको शेयरको लाभांश बाँड्ने,
(ड) आफ्नो प्रकाशन प्रति जनताको विश्वास बढाउन आवश्यक प्रचार गर्ने,
(ढ) आफ्नो प्रकाशनको बिक्री वितरणको लागि नेपालभित्र र विदेशमा समेत ठाउँ ठाउँमा बिक्री केन्द्र खोल्ने वा एजेन्सी दिने,
(ण) आफ्नो पदाधिकारी वा अरू कर्मचारीलाई निवृत्तभरण वा उपदानको व्यवस्था गर्ने तथा बचत खाता खोल्ने,
(त) आफ्नो रकमलाई नेपाल सरकारले अनुमति दिएका सेक्युरिटीहरूमा लगाउने,
(थ) यो ऐन अन्तर्गतको आफ्नो कर्तव्यहरूको पालन र अधिकारहरूको प्रयोग र यो ऐनको उद्देश्यहरूलाई कार्यान्वित गर्न आवश्यक भएका र त्यसको सिलसिलामा चाहिने अरू सबै काम कुराहरू गर्ने ।